प्रस्तुत विषयमा, नेपालको संविधान बमोजिम आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चत गर्नका लागि बैङ्क तथा वित्तीय संस्थामार्फत सम्बन्धित लाभग्राहीको नाममा खाता खोली उक्त खाताको माध्यमबाट भत्ता रकम वितरण गरिँदै आएको व्यहोरा सर्वविदितै छ ।
आर्थिक वर्ष २०७९/८० मा नाम दर्ता गराई नियमित रुपमा भत्ता प्राप्त गर्दै आउनुभएका लाभग्राहीहरुले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि परिचयपत्र नवीकरण गर्नुपर्ने हुँदा २०८० साल साउन १ गतेदेखि भाद्र मसान्तभित्रमा आफ्नो स्थायी बसोबास गर्दै आएको वडा कार्यालयमा लाभग्राही स्वयम् उपस्थित भई तपशील बमोजिम सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्नु गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएकोछ ।
तपसिल
१. नवीकरण गर्न सम्बन्धित वडा कार्यालय जाँदा लाभग्राहीहरुले आवश्यक सक्कल कागजात सहित आफैँ उपस्थित भई निवेदन दिनुपर्नेछ । निवेदन फारम कार्यालयबाट नि:शुल्क उपलब्ध हुनेछ ।
२. कुनै लाभग्राहीले दोहोरो सुविधा (पेन्सन वा अन्य नियमित सरकारी सुविधा) प्राप्त गरेको भए त्यस्ता लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था रहेको छ । यदि कसैले यसरी दोहोरो सुविधा लिनका लागि नयाँ नाम दर्ता तथा नवीकरण गराएको भेटिए कानून बमोजिम विगो बराबर जरिवाना सहित निजले बुझेको सम्पूर्ण रकम असुलउपर समेत हुनेछ ।
३. अपाङ्गता भएका बालबालिकाको हकमा अपाङ्गता परिचयपत्र सहित निजको बाबु/आमा दुवैको नागरिकता प्रमाणपत्र समेत अनिवार्य पेस गर्नुपर्नेछ ।
४. हालसालै खिचेको फोटो, आफू बसोबास गर्दै आएको वडाको टोल/गाउँको नाम, सम्पर्क फोन नम्बर तथा राष्ट्रिय परिचयपत्र नम्बर आदि निवेदन फारममा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
५. श्रावण १ गतेदेखि भाद्र मसान्तभित्र नवीकरण नभए भत्ताको रकम प्राप्त नहुने भएकाले निजले पुन: भत्ता प्राप्त गर्नका लागि नयाँ निवेदन दिनुपर्ने र निवेदन दर्ता भएको अर्को महिनाबाट मात्र भत्ता प्राप्त गर्नेछ ।
Attachment | Size |
---|---|
suppporting.pdf | 2.95 MB |